राजनीति

लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित

नवलपुर टुडे
२०७९ माघ २५ | मध्यान्ह ०४:१० बजे

दाङ, माघ २५ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । बुधबार भएको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार दसौदीले  ४०२६ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए । आचार्य ३२६ मतान्तरले पराजित भएका हुन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशमा कुल मतभार ७००९ रहेको थियो । निर्वाचन अधिकृत कार्कीका अनुसार प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए ।

कमेन्टहरु