राजनीति

हुन् राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित उर्मिला अर्याल ?

नवलपुर टुडे
२०७९ माघ २३ | मध्यान्ह १२:१० बजे

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।

राष्ट्रिय सभामा तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि भन्डै एक वर्षदेखि यो पद रिक्त थियो । पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी अर्यालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनले ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता पाएकी थिइन् । ०४६ मा एमालेमा प्रवेश गरेर उनी ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् । ०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी थिइन् । ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । 

०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन् । ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित अर्याल ०६७ मा स्थानीय विकासमन्त्री बनेकी थिइन् ।

विभिन्न समयमा एमाले पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी निर्वाह गरेकी अर्याल ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् । हाल उनी माओवादी स्थायी कमिटी सदस्य छिन् ।

१२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्यालले एक वर्षपछि उपाध्यक्ष बन्ने अवसर पाएकी हुन् ।

कमेन्टहरु