भ्रष्टाचार अवधारणा सूचांक सार्वजनिक, नेपाल ११० औं स्थानमा


काठमाडौं, माघ १७ । ट्रान्सपरेन्सी इन्टरनेशल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचांक सार्वजनिक गरेको छ । मंगलबार टीआईले सार्वजनिक गरेको सन् २०२२ को सूचांक अनुसार डेकमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ ।
यस्तै नेपाल ३४ अंक प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा छ । अघिल्लो वर्ष नेपाल ३३ अंक प्राप्त गरी ११७औं स्थानमा परेको थियो । सूचांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० अंक (स्कोर) प्राप्त भएमा बढि भ्रष्टाचार हुने मुलुकको रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा देखिएको उल्लेख छ ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५ औं), मालदिभ्सले ४० अंक (८५ औं), भारतले ४० अंक (८५ औं),श्रीलङ्काले ३६ अंक (१०१ औं),नेपालले ३४ अंक (११० औं), पाकिस्तानले २७ अंक (१४० औं), बङ्गलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अंक (६५ औं) प्राप्त गरेको छ ।
भ्रष्टाचार विरुद्ध विश्वभरनै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट्र सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिक वितृष्णा द्वन्द्वमा रुपान्तरण हुँदै गएको टीआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई नै बेवास्ता गरिएको टीआईको भनाइ छ ।
























