लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाउने तयारी, राज्यमन्त्रीहरू नरहने,

नवलपुर टुडे
२०७९ माघ १५ | मध्यान्ह ०१:१० बजे

रुपन्देही, माघ १५ । लुम्बिनी प्रदेश सरकारले राज्यमन्त्री नियुक्त नगर्ने भएको छ । यसअघि १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ मन्त्री रहेका लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर अब १० वटा मन्त्रालय बनाउने तयारी रहेको छ ।

छिटोछरिता, मितव्ययी र पारदर्शी सरकार बनाउने र मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी रहेको नवनियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । उनले संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको पनि बताए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ । 

मुख्यमन्त्रीको सचिवालयका अमृत गिरीका अनुसार यसपटक कुनै पनि सहायकमन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त हुनेछैनन् । आर्थिक मितव्ययी, पारदर्शी र सरल कामकाजका लागि सानो आकारको मन्त्रीमण्डल एक साताभित्र बिस्तार हुने गिरीले बताए । 

यसअघि लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री शङ्कर पोखरेलले नौवटा मन्त्रालय बनाएका थिए भने त्यसपछिका मुख्यमन्त्री कुलप्रसाद केसीले बढाएर १३ मन्त्रालय बनाएका थिए । पोखरेल साढे तीन वर्ष मुख्यन्त्री बने भने केसीले डेढ वर्ष मुख्यमन्त्री चलाए । मन्त्रालय धेरै बनाएर आर्थिक भार बढेको भन्दै आलोचना भएपछि अहिलेका मुख्यमन्त्री गिरीले मन्त्रालयको सङ्ख्या घटाउने तयारी गरेका हुन् ।  

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बाहेकका सबै दलले सरकारलाई विश्वासको मत दिएका छन् । अहिले मुख्यमन्त्रीसहित ३ जनाको मन्त्रीमण्डल बनेको छ । नेकपा एमालेबाट मुख्यमन्त्री लिला गिरीसहित माओवादी केन्द्रका कृष्णा केसी र एमालेकै चेतनारायण आचार्य बिनाबिभागीय मन्त्री बनेका छन् । 

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका नेता तुलाराम घर्ती (वसन्त) र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ मेनुका खाँण निर्वाचित भएका छन् ।  

कमेन्टहरु