नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने


काठमाडौं, माघ १५ । रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले नागरिकता विवाद सम्बन्धि मुद्दामा दोषी ठहर गरेपछि मन्त्री र सांसद पद गुमाएका लामिछाने आइतबार नयाँ नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने बताएको थियो । लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।
काठमाडौं प्रशासन परिसरमा लामिछाने आउनु अगावै उनका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रहरीको समेत बाक्लो उपस्थिति छ । पुन: नेपाली नागरिकता लिएर रवि फेरि उपनिर्वाचनमा सहभागी हुने चर्चा बढेको छ ।























