बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित,चार सय घरमा क्षति


बाजुरा, माघ १३ । बाजुरामा मङ्गलबार गएको भूकम्पबाट ४२ परिवार पूर्णरुपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ४२ परिवार विस्थापित भएका हुन् ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलब ९ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् । भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक,गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए ।
चार सय घरमा क्षति
भूकम्पबा झण्डैं चार सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।
भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९,गौमुलमा ११,खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डीएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ ।
यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत,हिमाली गाउँपालिका–१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
बोहरा,महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेका डीएसपी थापाले बताए । भूकम्पले पुर्याएको क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ । रासस























