आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यममाथि कारबाही


काठमाडौं, माघ १२ । प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा आचारसंहिता उल्लंघन गरेका ४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ ।
अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्दै समाचार सम्प्रेषण गरेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटकपटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको जनाएको छ ।
काउन्सिलका सह-प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ ।
काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चारमाध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै उजुरीका आधारमा दर्ता/सूचीकरण नभएका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ । काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ ।
यस्तो कार्य प्रचलित कानून, पत्रकार आचारसंहिताविपरीत र पत्रकारिताको दुरूपयोग भएको भन्दै काउन्सिलले सञ्चारमाध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलको चेतावनी छ ।
हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको विशेष अनुगमनमा १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिताप्रतिकूल पाइएको काउन्सिलले जनाएको छ ।
तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ ।























