नवलपरासीको तनोवाबाट अवैध काठ बरामद


नवलपरासी, माघ १० । पश्चिम नवलपरासीको तनोवाबाट प्रहरीले काठ बरामद गरेको छ । सोमबार साँझ करिब ७ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका – १६ तनोवास्थित तुरिया खोलाको किनारबाट काठ बरामद गरेको हो ।
बरामद काठ रामग्राम नगरपालिका – १ सण्डा बस्ने बर्ष ४६ को रामसवक यादवको रहेको छ । यादवले वन कार्यालयको स्वीकृत नलिई सिसौको रुख काटी लु २ त २१९३ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तोनवाबाट प्रहरी सहायक निरीक्षक थमन ठाडाको कमाण्डमा खटिएको प्रहरी टोलीले लैजाँदै गरेको ट्याक्टरसहित काठ नियन्त्रणमा लिएको हो ।
बरामद सिसौको काठ ९५ क्यूफिट रहेको छ । जसको अन्दाजी मुल्य रु. ६६,५०० रहेको प्रहरीले जनाएको छ । काठ आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जनाएको छ ।ट्याक्टर चालक फरार रहेको र सो विषयमा वन कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ ।























