धरानमा मेयर हर्क साम्पाङले चलाए डोजर, स्थानीय र सुरक्षाकर्मीबीच झडप


धरान, माघ ८ । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु भत्काउन आइतबार डोजर परिचालन गरेको छ । धरान उपमहानगर – ५ स्थित अँधेरी खोला किनारमा जग्गा अतिक्रमण गरी बनाइएको मुना चौधरी लिम्बूको घर उपमहानगरले भत्काएको हो ।
उपमहानगरले पहिले नै २ पटक घर नबनाउन सूचना दिएको र बनेको संरचना भत्काउन आग्रह गर्दा अटेरी गरेपछि डोजर चलाइएको उपमहानगर कार्यालयले जनाएको छ । त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए ।
नगरको डोजर आउने सूचना पाएपछि स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए । त्यो समूहलाई धरान – ५ का पूर्व वडाध्यक्ष सन्तोष लिम्बूको साथ थियो । उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन नहुने अडान लिएका थिए । पूर्व वडाध्यक्ष लिम्बूले उपमहानगरले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए ।
उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन् । तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन ।























