अब एउटा जिल्लामा सिडिओको पदावधि एक वर्ष


काठमाडौ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका हुन् ।
विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा सिडिओको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुने व्यवस्था कार्यविधिमा छ । शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, सिडिओ लामो समय कार्यालयमा अनुपस्थित हुने अवस्था, गम्भीर स्वास्थ्य अवस्था, विभागीय कारबाहीको सिफारिस, आचरण तथा अनुशासनसम्बन्धी प्रश्नलगायतलाई विशेष अवस्थाका रूपमा व्याख्या गरिएको छ ।
तर, गत १ वैशाखअघि सिडिओको जिम्मेवारीमा खटाइएकालाई अन्यत्र कामकाजमा खटाउन बाधा नपर्ने व्यवस्था पनि कार्यविधिमा छ । कार्यविधिले एकपछि अर्को जिल्लामा निरन्तर सिडिओमा चक्कर लगाइरहने प्रवृत्ति रोक्न खोजेको छ ।
त्यसका लागि निरन्तर तीनवटा जिल्लाको सिडिओको जिम्मेवारी बहन गरिसकेका सहसचिवलाई गृह मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा एक अवधिका लागि सिडिओबाहेकको जिम्मेवारीमा खटाउने व्यवस्था गरिएको छ । त्यस्तै, एक अवधि सिडिओ भइसकेको उपसचिवलाई सहायक सिडिओ वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकालपछि मात्र सिडिओको जिम्मेवारीमा खटाइने पनि कार्यविधिमा उल्लेख छ ।
गृह मन्त्रालयबाहिर सरुवा भई गएको उपसचिव पुनः मन्त्रालयमा सरुवा भई आएमा एक अवधि मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कामकाज गरेपछिमात्र सिडिओको जिम्मेवारीमा खटाइने व्यवस्था कार्यविधिमा छ ।























