मुख्य समाचार

जीवित शिशुलाई मृत घोषणा गरेपछि कोशी अस्पतालको डाक्टरमाथि कुटपिट, ३ जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह ०५:१० बजे

विराटनगर, माघ ४ । विराटनगरस्थित कोसी अस्पतालमा जीवित नवजात शिशुलाई मृत घोषणा गरेपछि डाक्टरमाथि कुटपिट गरिएको छ । मोरङको जहदा गाउँपालिका-३ भातिगञ्जका दीलिप मुखिया र उमा मुखियाका १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृत घोषणा गरेका थिए ।

डाक्टरले मृत्यु भइसकेको भनिएकी शिशुको अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ । कोसीमा मृत घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आक्रोशित परिवार र आफन्तले डाक्टर यादवमाथि कुटपीट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ । 

उनीमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दीलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि मुखिया परिवारले बुधबार बिहान शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । राम्रोसँग परीक्षण नै नगरी डाक्टर यादवले मृत घोषणा गरेको परिवारले जनाएको छ । दिलिपकी पत्नी उमाले पुस १७ मा ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएकी थिइन् ।

जन्मिदा शिशुको तौल १ किलो चार सय ग्राम थियो । हस्पिटलमा केही दिन बसेपछि उनलाई डिस्चार्ज दिइएको थियो । 

कमेन्टहरु