मुख्य समाचार

पूर्वगृहमन्त्री खाँणको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मी फिर्ता

नवलपुर टुडे
२०७९ पुस २६ | मध्यान्ह ०२:०९ बजे

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । कांग्रेस नेता खाँणको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

गृह मन्त्रालयले गत पुस १२ गते कार्यविधि विपरीत राखिएको सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । गृहको निर्देशनपछि अहिलेसम्म १ सय ९० जना प्रहरी कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सह–महामन्त्री उमाकान्त चौधरीको सुरक्षामा खटिएका प्रहरी पनि फिर्ता भएका छन् ।

पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य उमा रेग्मीको सुरक्षामा खटिएका प्रहरीलाई पनि फिर्ता बोलाइएको छ । यसैगरी एमाले नेता एवं पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगड, माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा र कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको सुरक्षामा खटिएका प्रहरी फिर्ता भएका छन् ।

पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, कांग्रेस नेता रामशरण महत र पूर्वमन्त्री भवानी खापुङको सुरक्षामा खटिएका प्रहरी फिर्ता भएका छन् । व्यवसायी चन्द्र ढकालको सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई पनि प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ विपरीत खटिएकाहरूलाई फिर्ता गरिएको डिआइजी राईले बताए ।

कमेन्टहरु