मुख्य समाचार

मलेसियामा अलपत्र परेका १३ मध्ये ६ जना आज स्वदेश फर्किँदै

नवलपुर टुडे
२०७९ पुस २६ | बिहान ०९:०९ बजे
मलेसियामा बन्धक रहेका नेपाली

काठमाडौं, पुस २६ । मलेसियामा अलपत्र परेका १३ जनामध्ये ६ जना आज स्वदेश फर्किँदै छन् । सरकारको निर्देशनपछि क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा १३ जनामध्ये ६ जना आज स्वदेश फर्किने भएका हुन् ।

बाँकी ७ जना शुक्रवार नेपाल फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिनअघि मलेसियाको प्लान्टेसन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फोरेस्ट म्यानेजमेन्ट (एम) एसडीएन बीएचडीमा काम गर्ने गरी गएका १३ जना नेपाली अलपत्र परेको समाचार सार्वजनिक भएको थियो । 

समाचार बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाइ तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

दूतावासले रोजगारीमा पठाउने कम्पनी त्रिवेणी एचआर सोलुसन प्राइभेट लिमिटेडको प्रतिनिधिसमेतको रोहबारमा दूतावासमा ती १३ जना नेपालीसँग छलफल गरी उनीहरूलाई नेपाल फर्कने प्रबन्ध मिलाएको हो ।

उनीहरूलाई नेपाल फर्कनका लागि आवश्यक पर्ने मलेसियाली अध्यागमन विभागको चेकआउट मेमो र हवाई टिकटको व्यवस्था र नेपाल नफर्केसम्मका लागि बस्ने र खाने व्यवस्था मिलाइसकेको पनि दूतावासले जनाएको छ ।

कमेन्टहरु