त्रिभुवन विमानस्थलको भन्सारले जफत गरिएका १५१ मोबाइल लिलामी बिक्रीमा


काठमाडौँ, पुस २२ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले यात्रुबाट जफत गरिएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ ।
यात्रु जाँचपासका क्रममा अवैध रूपमा ल्याइएका मोबाइल फोनहरु विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएको खण्डमा विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले त्यस्ता मोबाइल लिलामी बिक्रीका लागि राख्ने व्यवस्था अनुरुप लिलामी बिक्रीका लागि राखिएको सूचनामा उल्लेख छ ।
‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।
लिलामी बिक्रीका लागि राखिएका ती १५१ थान मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि कार्यालय समयभित्र भन्सार कार्यालयको मुद्दा शाखामा सम्पर्क गर्न साथै कार्यालयको वेबसाईटमा समेत हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
























