मुख्य समाचार

नवलपरासीमा शीतलहरले जनजीवन प्रभावित, स्थानीय तहद्वारा दाउरा वितरणको तयारी

नवलपुर टुडे
२०७९ पुस २० | मध्यान्ह ०१:०९ बजे
फाइल तस्बिर

परासी । पश्चिम नवलपरासीमा शितलहर बढेसंगै शीतलहरबाट बच्न सामुहिक धुनीको लागि स्थानीय निकायबाट दाउरा वितरण गर्न लागिएको छ ।

यसअघि जाडो र हुस्सुबाट बच्नका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा विपद् व्यवस्थापन समिति बैठकले सामूहिक धुनी लगाएर आगो ताप्नका लागि वन कार्यालयमार्फत न्यूनतम मूल्यमा काठ बिक्री गर्ने, न्यानो कपडा विपद् समितिमा तयारी अवस्थामा राख्ने, विद्यार्थीको झोला र स्कुल बसमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, शीतलहर कार्ययोजना पारित र सवारी साधनमा फग्गी लाइट अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सो अनुसार जाडो बढेसंगै स्थानीय निकायले दाउरा वितरण गर्ने तयारी गरेको हो । तर, स्थानीय नागरिकले गत बर्ष स्थानीय निकायले समयमै दाउरा वितरण गरेको र यसबर्ष जाडो बढ्दा पनि स्थानीय निकायले दाउरा बाढ्न ढिला गरेको जनगुनासो छ ।

नागरिकको गुनासो बढ्न थालेपछि आज सामुहिक धुनीको लागि रामग्राम नगरपालिकाले १० चट्टा, प्रतापपुर गाउँपालिकाले ३ चट्टा, बर्दघाट नगरपालिकाले २ चट्टा दाउराको प्रबन्ध गर्न डिभिजन बन कार्यालयबाट सहुलियत दरको छुट पुर्जी प्राप्त गरेकोले यथाशिघ्र दाउरा वितरण गर्न तयारी गरेको हो ।

कमेन्टहरु