मुख्य समाचार

कास्कीको सिक्लेसमा आगलागी : पूर्व वडाध्यक्षको मृत्यु, २ घर जलेर नष्ट

नवलपुर टुडे
२०७९ पुस १८ | बिहान ०९:०९ बजे

पोखरा, पुस १८ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गएराती आगलागी भएको छ । आगलागीबाट २ घर जलेर नष्ट भएका छन् भने घर जल्दा पूर्व वडाध्यक्षको मृत्युसमेत भएको छ ।

मादी गाउँपालिका – १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर,  आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ ।

गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो । आगलागीबाट नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रूपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबै कुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए ।

आगो करिब ११ बजे स्थानीय मिलेर निभाएका थिए । आगलागीको कारण भने अझै खुल्न सकेको छैन र क्षतिको विवरण पनि आएको छैन ।

कमेन्टहरु