कम्बोडियाको क्यासिनोमा भएको आगलागीमा परी झापाका निराकार पाण्डेको मृत्यु


काठमाडौँ, पुस १५ । कम्बोडिया र थाइल्यान्डको सिमानानजिकै रहेको पोइपेटस्थित एक क्यासिनोमा भएको भीषण आगलागीमा परी झापाका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । कम्बोडियामा पर्ने ग्रान्ड डायमन्ड सिटीको भवनमा आगलागी हुँदा पाण्डेसहित २४ जनाको मृत्यु भएको हो ।
उक्त घटनापछि एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का घटनास्थलमा पुगेका छन् । अहिले पाण्डेको शव थाइल्यान्डस्थित नेपाली राजदूतावासमार्फत नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष खड्काले बताए । उक्त क्यासिनोमा अन्य केही नेपालीहरू पनि कार्यरत रहेको तर उनीहरूको अवस्थाबारे अझै जानकारी नआएको जनाइएको छ ।
झापाको बिर्तामोड-१ का पाण्डेले मृत्यु हुनुअघि आफ्नो परिवारलाई भाइबरमार्फत भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी गराएका थिए । भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हामफाल्नुको विकल्प नरहेको बताएका थिए । परिवारले भने त्यसो नगर्न र उद्धारका लागि अपिल गर्न आग्रह गरेका थिए । उनले आफ्नो छोरालाई सम्बोधन गर्दै भनेका थिए‚ ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु । जहाँ भए पनि‚ जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु । आर्मन इज द बेस्ट है सानु ।’
बिर्तामोडमा रहेका हजुरबुबा-हजुरआमा र मामाघरतर्फका हजुरबा-हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गर्दै उनले भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है । लमजुङको बुबा-मामुलाई माया गर्नू । सबैभन्दा ठूलो कुरा- राम्रो मान्छे बन्नुपर्छ है छोरा ।’
पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको थिए । उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए ।























