बागमती किनारको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले माग्यो गृहसँग सहयोग


काठमाडौं, पुस १४ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो ।
महानगरले त्यहाँको सुकुम्बासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको पत्रमा उल्लेख गरेको छ । ‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ । जसको लागि तहाँ मार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
अतिक्रमित क्षेत्रमध्ये थापाथलीस्थित बाग्मती नदी किनारमा अव्यवस्थित/अनाधिकृत रूपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन नसकेको महानगरको निष्कर्ष छ ।
महानगरले सो अनाधिकृत संरचना हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरू गर्नुपर्ने भएकाले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालयसँग अनुरोध गरेको हो ।























