देउवा झनै शक्तिशाली

नवलपुर टुडे


भारी मतान्तरले संसदीय दलको नेता निर्वाचित भएपछि देउवाका लागि छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ, साथै फरक समूहलाई विश्वासमा लिएर पार्टी चलाउने र अन्य दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर अहिलेको राजनीतिक कोर्स अगाडि बढाउने दायित्व पनि थपिएको छ
काठमाडौ । पार्टी महामन्त्री गगन थापालाई भारी मतान्तरले पराजित गर्दै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि बुधबार भएको मतदानमा देउवाले ६४ र महामन्त्री थापाले २५ मत पाएका छन् । निर्वाचनमा ८९ मतदाता थिए ।
पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएसँगै देउवा पार्टीभित्र मात्र होइन, समग्र देशको राजनीतिमा झन् शक्तिशाली नेताका रूपमा उदाएका छन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था भएकाले यो जितले सबैभन्दा ठूलो दलका सभापति देउवालाई छैटौँपटक प्रधानमन्त्री बन्ने बाटो खुला गरेको छ ।
दलको नेताको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत आएपछि निर्वाचन समितिले देउवालाई नेता चयन भएको घोषणा गरेको थियो । निर्वाचन समिति संयोजक सहमहाममन्त्री भीष्मराज आङदेम्बेका अनुसार निर्वाचनमा ८९ सांसदले नै मतदान गरेका थिए । कांग्रेस विधानमा दलको नेता हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ । एक वर्षअघि भएको १४औँ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पाटी सभापति बनेका थिए ।
दलको नेतामा निर्वाचित भएसँगै देउवाका अगाडि इतर समूहलाई विश्वासमा लिएर पार्टी चलाउने र अन्य दलसँग समन्वयकारी भूमिका निर्वाह गरेर अहिलेको राजनीतिक कोर्स अगाडि बढाउने दायित्व थपिएको छ । दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई मिलाएर राम्रोसँग अघि लैजान आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिए । ‘सबैलाई मिलाएर लैजानेछु । पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा प्रतिबद्ध छु,’ देउवाको भनाइ थियो । देउवाले दलको नेतामा निर्वाचित गराएकोमा सांसदलाई र सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समितिलाई धन्यवाद दिएर बाहिरिएका थिए ।
इतर समूहले आफ्नो पक्षमा न्यूनत ३२ सांसद रहेको दाबी गरे पनि महामन्त्री थापाले २५ मत मात्रै पाए । सोही कारण महामन्त्री थापाले परिणाम अनपेक्षित भए पनि स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिए । ‘लोकतान्त्रिक अभ्यासका रूपमा परिणामलाई स्वाभाविक रूपमा लिएको छु । कांग्रेस रूपान्तरको मेरोे प्रस्तावमा पार्टीका अधिकांश साथीहरू उभिनुभएको रहेनछ भन्ने परिणामले देखाएको छ,’ उनले भने, ‘मलाई समूहमा रहेको मतले पुग्दैन भन्ने थाहा थियो । अरू पनि मत थपिन्छ भन्ने विश्वास थियो, तर त्यो धेरै नै अनपेक्षित देखियो ।’
उनी संसदीय राजनीतिमा छैटौँपटक दलको नेता भएका छन् । यसअघि उनी ०५१, ०५८, ०६३, ०७२ र ०७४ मा पनि संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाको २६ भदौ ०५२ मा पहिलोपटक, ७ साउन ०५८ मा दोस्रोपटक, २१ जेठ ०६१ मा तेस्रोपटक, २३ जेठ ०७४ मा चौथोपटक र २९ असार ०७८ मा पाँचौँपटक प्रधानमन्त्री भएको इतिहास छ । देउवा ६ दशकदेखि निरन्तर राजनीतिमा छन् ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल थिए ।
संसदीय दलमा ७१.९१ प्रतिशत सांसद आफ्नो पक्षमा उभिएको देखाएका देउवासँग केन्द्रीय कार्यसमितिमा पनि ठूलो शक्ति छ । केन्द्रीय समितिमा उनको पक्षमा ८२.२७ प्रतिशत सदस्य छन् । यसले संसदीय दल र पार्टी दुवैतिर देउवाको पकड बलियो बनेको छ । कांग्रेसको एकसय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्दीय केन्द्रीय कार्यसमिति छ । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ ।
महामन्त्री शर्मा र पौेडेल समावेश भएसँगै केन्द्रीय समितिमा इतरको संख्या २८ पुगेको छ । यस आधारमा देउवासँग केन्द्रीय समितिमा ८२.२७ आफ्नो पक्षमा छ । महाधिवेशनमा निर्वाचित एक सय ३४ मध्ये महामन्त्री शर्मासहित एक सय नौजना संस्थापन समूहका थिए । २३ मनोनीतमध्ये पौडेलबाहेक दुईजना मात्र इतर समूहबाट मनोनीत भएका थिए । पौडेल महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए ।
इतरले पाएन आफ्नै मत, इतरका नौ मत देउवाको पोल्टामा
निर्वाचनमा इतर समूहले आफ्नै समूहको मत पनि जोगाउन सकेन । इतरले आफूप्रति प्रतिबद्ध भोट ३२ तथा महामन्त्री शर्मा र प्रदीप पौडेल थपिँदा ३४ मत पुग्ने अपेक्षा गरेको थियो । यसबाहेक संस्थापनबाट आफ्नो पक्षमा ६ भोटसम्म आउने आकलन गरेको थियो । तर, मतदानका क्रममा इतरले निश्चित मानेको नौ मत पनि सभापति देउवाको पोल्टामा पर्यो ।
महामन्त्री शर्मा र पौडेल गगनको समर्थकका रूपमा उभिएपछि उत्साहित बनेको यो समूहले संस्थापन मतसमेत प्रभावित गर्न सकिने अनुमान लगाएको थियो । तर, निर्वाचन परिणामपछि इतरमा यो विषयले शंकाको अवस्था सिर्जना गरेको छ । एक केन्द्रीय सदस्यका अनुसार इतरले यसबारे सूक्ष्म रूपमा समीक्षा गरिरहेको छ ।
संस्थापनले प्रलोभनमा पारेर आफ्नो पक्षको मत प्रभावित गरेको इतरको आशंका छ । एक सांसदका अनुसार प्रारम्भिक समीक्षामा महाधिवेशनअघि इतर समूहको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आएका केही सांसद र अन्य केहीले मत नहालेको अनुमान लगाइएको छ । ‘पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आउनुभएका नेताहरूले वरिष्ठ नेता पौडेलले सभापतिलाई समर्थन गरेपछि उतै मत दिएको अनुमान छ । साथीहरू प्रलोभनमा पर्नुभएको आशंका पनि छ । हामी सूक्ष्म रूपमा समीक्षा गरिरहेका छौँ,’ ती सांसदले नयाँ पत्रिकासँग भने ।
दलको निर्वाचन इतिहासमा देउवाको सर्वाधिक मत, गगनको सबैभन्दा कम मत
कांग्रेस संसदीय दलको नेताको निर्वाचन इतिहासमा गगनले सबैभन्दा कम मत पाए भने देउवा सबैभन्दा बढी मत पाउनेमा देखिए । कांग्रेसमा ०५६ बाट संसदीय दलको नेता चुन्ने परम्परा सुरु भएको देखिन्छ । त्यसयताका ६ निर्वाचनलाई हेर्दा ०५६ मा गिरिजाप्रसाद कोइराला र देउवा मैदानमा हुँदा कोइरालाले ६२ मत आफ्नो पक्षमा पारेर बाजी मारेका थिए ।
०५८ मा देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा हुँदा देउवाले ६४ प्रतिशत मत ल्याएर जितेका थिए । ०६५ मा रामचन्द्र पौडेल र देउवा प्रतिस्पर्धामा रहँदा पौडेल ५५ प्रतिशत मत ल्याएर निर्वाचित भएका थिए । ०७० मा सुशील कोइराला र देउवा प्रतिस्पर्धामा हुँदा कोइरालाले ५४ प्रतिशत मत ल्याएर संसदीय दलको नेतृत्व गरेका थिए ।
०७४ मा देउवा र प्रकाशमान सिंह आमनेसामने भएका थिए । त्यसवेला देउवा ६९ प्रतिशत मत ल्याएर संसदीय दलको नेता चुनिएका थिए । यसपटक संसदीय दलमा देउवाको पक्षमा हालसम्मकै बढी ७१.९१ प्रतिशत मत आयो भने गगनले कम मत पाउने अवस्था आयोे ।
मोबाइलको लफडा
निर्वाचन समितिले बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचनको समय तोकेको थियो । तर, मतदानस्थलमा मोबाइल लान पाउने–नपाउने विषयमा निर्वाचन समितिमा विवाद देखिएको थियो । यही विषयले ८ बजे निर्धारित निर्वाचन सुरु हुन सकिरहेको थिएन । निर्वाचन समितिमा रहेका संस्थापन समूहनिकट संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बे र सदस्य पुष्पा भुसाल मोबाइल प्रतिबन्ध गर्न नहुने पक्षमा थिए भने इतर समूहनिकट समिति सदस्य प्रकाश रसाइली स्नेही मोबाइल रोक्नुपर्ने अडानमा थिए । ‘सांसदहरूलाई यति साह्रो पनि अविश्वास गर्नुहुन्न’ भन्नेमा दुई सदस्य थिए भने स्नेही मोबाइल लान दिनुहुन्न भन्नेमा नै देखिए । यही कारण ४५ मिनेटसम्म मतदान सुरु हुन पाएन ।
अन्तमा मतदानमा मोबाइल लान नपाउने सहमतिपछि पौने नौ बजेबाट मतदान सुरु गरिएको थियो । मतदानको सुरुवात दुई उम्मेदवारको मतदानसँगै अगाडि बढेको थियो । तर, मतदानको बीचमा संस्थापन समूहका सांसदहरू आरजु राणा र मञ्जु खाणले मतदानस्थलमा मोबाइल लान नपाउने सहमतिविपरीत मतदान गरिरहेकाको मतपत्रको तस्बिर खिचेका थिए । यसक्रममा उनीहरूले नौजनाले मतदान गरिरहेको मतपत्रको समेत फोटो आउने गरी तस्बिर लिएको इतर समूहका सांसदको दाबी थियो । यस विषयले केही समय विवादसमेत भएको थियोे । तस्बिर लिएको जानकारीपछि इतर समूहका सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका थिए । महामन्त्री थापाले समेत सहमतिविपरीत मोबाइल प्रयोग भएको भन्दै सञ्चारकर्मीसँग गुनासो गरेका थिए । इतर समूहका नेताहरूले यस्ता गतिविधिबाट इतरको मत प्रभावित बनाएकोे आरोपसमेत लगाए ।
अस्पतालबाटै मायाले गरिन् मतदान
निर्वाचनका क्रममा कांग्रेसका ८९ जना सांसदले नै मतदान गरेका थिए । जसमध्ये माया राईले भने ओम अस्पतालबाटै मतदान गरिन् । उनी सुत्केरी भएर अस्पतालमा रहेका कारण निर्वाचन समिति र उम्मेदवारको प्रतिनिधिको रोहवरमा अस्पतालमै मतपत्र लगेर मतदान गरी सिलबन्दी गरेर ल्याइएको थियो । निर्वाचन समिति सदस्य प्रकाश रसाइलीका अनुसार निर्वाचन समितिका तर्फबाट सूर्य भट्टराई र दुवै उम्मेदवारका प्रतिनिधि अस्पतालमा पुगेर मतदानको व्यवस्था मिलाएका थिए । निर्वाचन सुरु भएको करिब एक घन्टामा मतदान सम्पन्न भएको थियो ।
पार्टीलाई सन्तुलित बनाएपछि बल्ल शक्तिशाली भइन्छ : लोकराज बराल विश्लेषक
संख्याले मात्रै शक्तिशाली हुँदैन । जस्तो हिजो वामपन्थीको पनि झन्डै दुईतिहाइ बहुमत थियो, तर त्यो शक्तिको नतिजा देखिएन । शक्तिशाली कति वेला भइन्छ भने उहाँले जति वेला पार्टीलाई सन्तुलित बनाउनुहुन्छ, जनतामाझ पार्टीको इमेज देखाउनुहुन्छ र पार्टीले कस्ता सोच र मुद्दालाई उठाउँछ भन्ने देखिन्छ ।
अहिले त संख्या पुग्यो । जितहार भयो । हिसाबमा धेरै कारणले तलमाथि हुन्छ । तर, पार्टीको शक्ति भनेको संख्या मात्र होइन । सिद्धान्त, गन्तव्य, जनमुखी कार्यक्रम, भिजनलगायतले देखाउँछ । देउवालाई देशले पाँचपटक प्रधानमन्त्रीका रूपमा हेरिसकेकोे हो ।
कुनै नयाँ गति दिनुभएको त देखिँदैन, तर कांग्रेसले सौहार्दपूर्ण रूपमा निर्वाचन गरेर अरू पार्टीको भन्दा लोकतान्त्रिक संस्कार देखायो । अरू पार्टीलाई पनि हाँसेरै सँगसँगै उभिएर प्रतिस्पर्धामा जाने र परिणामलाई स्विकार्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेको छ । नयाँ पत्रीकाबाट साभार

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
अरुपनि पढ्नुहोस
सबै
यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य
















