पर्साको प्याकेजिङ उद्योगमा आगलागी, १४ करोड बराबरको क्षति


अशिम कामु मगर
वीरगञ्ज, पुस ६ । पर्साको बिन्दवासिनी गाउँपालिका-२ गर्दौलस्थित बाबा प्रिन्टिङ एण्ड प्याकेजिङ इन्डष्ट्रिज प्रालिकाे कार्टुन फ्याक्ट्रीमा मंगलबार राती आगोलागी भएको छ । आगलागीबाट करिब १४ करोड मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति पौने १२ बजेको समयमा भएको आगलागी करिब ३ घण्टापछि मात्रै नियन्त्रणमा लिन सफल भएको थियाे । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र विपत व्यवस्थापन गुल्म पर्साकाे दमकलसहितकाे प्रहरी टोली तथा सशस्त्र प्रहरीले राति २ बजेर ५५ मिनेटमा आगलागी नियन्त्रणमा लिएको थियाे ।
आगलागीबाट फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुनलगायत जलेर १४ करोड बराबरको क्षति भएको कारखाना पक्षबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी पर्साले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागी कसरी भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























