नागढुङ्गा सुरुङमार्ग समयमा पूरा नहुने, न्यूनतम ६ महिना थप्नुपर्ने

नवलपुर टुडे


काठमाडौं । सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ ।
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा ६ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ छ ।
आगामी वर्ष साउनमा अवधि सकिने भए पनि त्यतिबेलासम्म निर्माण पूरा हुन गाह्रो हुने देखिएको उनको भनाइ छ । पछिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण निर्माण नियमित रुपमा हुनसकेको थिएन । हाल अवधि थपबारे परामर्शदाताले अध्ययन गरिरहेको र विगतमा काम हुन नपाएको अवधिसमेत गरेर ६ महिनाभन्दा बढी थप्नुपर्ने हुनसक्ने उनको भनाइ छ । “समयावधि थप्नका लागि ढिलाइ भएको कारण प्रमाणसहित हेर्नुपर्छ,” उनले भने ।
उपनिर्देशक अधिकारीले हाल कार्यरत कम्पनीको काम भने सन्तोषजनक रहेको बताए । उनका अनुसार सुरुङको प्रगति ७० प्रतिशतभन्दा बढी पुगेको छ । “मुख्य काम सुरुङ भएकाले त्यसमा र अरु सहायक काम पनि प्रगति राम्रो छ,” उनले भने ।
दुई किलोमिटर ६८८ मिटर लम्बाइको सुरुङमार्ग हालसम्म एक किमी ७११ मिटर निर्माण सकिएको आयोजनाले जानकारी दिएको छ । पूर्वतर्फबाट ८३२ मिटर र पश्चिमतर्फबाट ८७८ मिटर निर्माण सकिएको छ । सुरुङको निष्काशन (इभ्याक्युएसन टनेल) दुई किलोमिटर ५५७ किलोमिटर निर्माण गर्नुपर्नेमा हालसम्म एक किमी ९४८ मिटर सकिएको छ ।
१२६ मिटरको ‘वर्किङ अडिट’को निर्माण सकिएको छ । साढे पाँच किमी ‘क्रस प्यासेज’ निर्माण गर्नुपर्नेमा हाल तीन किमी ८६ मिटर सकिएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत सुरङ निर्माणसँगै अन्य १२ वटा संरचना निर्माण गर्नुपर्नेमा हालसम्म ११ संरचना सम्पन्न भइसकेका छन् । तीन ‘अन्डरपास’, एउटा ‘ओभर पास’, तीन पुल र चार बक्स कल्भर्ट’ सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ ।
आयोजनाअन्तर्गत नै बलम्बुमा ‘फ्लाई ओभर निर्माणाधीन रहेको भए पनि जग्गा प्राप्त नहुँदा निर्माणमा समस्या भइरहेको अधिकारीले बताए । जग्गाको क्षतिपूर्ति दिने काम ९५ प्रतिशत सकिएको छ । दुई जगको काम भइसकेको र पाँचमध्ये दुई ‘सुपर स्ट्रक्चर’ काम भएको आयोजनाले जनाएको छ ।
आयोजनामा गत महिनासम्ममा भौतिक प्रगति ४६ दशमलव २६ प्रतिशत र पेश्किसहित वित्तीय प्रगति ४८ दशमलव ८३ प्रतिशत छ । आयोजनामा जमिनमा हुने काममध्ये सडकमार्गका लागि माटो खन्ने काम काम ७७ दशमलव आठ प्रतिशत र बाँध निर्माणको काम ६२ दशमलव चार प्रतिशत सकिएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माणमा काठमाडौं र धादिङ गरी दुवै जिल्लामा जग्गा प्राप्तिको समस्या छ । काठमाडौंमा जग्गा र धादिङतर्फ निर्माणस्थलमा केही घरसमेत रहेको आयोजनाले जनाएको छ । धादिङतर्फ तत्काल निर्माणमा नै असर नगरेको भए पनि जग्गा प्राप्त नहुँदा काठमाडौंतर्फ ‘फ्लाई ओभर’ निर्माणमा अवरोध भएको उपनिर्देशक अधिकारीले बताए ।
सुरुङमार्गमा समस्या समाधानका लागि पटक–पटक छलफल भए पनि समाधान भइसकेको छैन । मुआब्जाको विषय नीति निर्माणसम्बन्धी विषय भएकाले आयोजनाले मात्रै सल्टाउन नसक्ने उपनिर्देशक अधिकारीले बताए । धादिङमा सुरुङको देब्रेतर्फ पहिरो र केही घरजग्गा प्राप्त गर्नुपर्नेमा ती घरको अख्तियारमा मुद्दा रहेको उनले जानकारी दिए ।
सुरुङमार्गमा हावाका लागि भेन्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा ५०० मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो । एकसय वर्षभन्दा पहिले मकवानपुरको भीमफेदी–कुलेखानी सुरुङ निर्माण भएको थियो । हाल वाग्मती प्रदेश सरकारले पोष्टबहादूर बोगटी सुरुङमार्ग नामाकरण गरी सो योजनालाई प्रदेश गौरवको आयोजनाअन्तर्गत राखेर यसको अध्ययन अघि बढाएको छ ।
जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबीसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विश्वास गरिएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुईवटा सुरुङको निर्माण हुनेछ ।
दुईवटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुनेछ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुवैतर्फ गाडी चल्न सक्ने गरी सुरुङको निर्माण भएको छ । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वारसमेत छन् ।
सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुने र कमजोर ढुङ्गा माटोलाई सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ ।
निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँशी नगरपालिकामा नै हस्तान्तरण गर्ने आयोजनाको योजना छ । रासस

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















