परासीस्थित पृथ्वी चन्द्र जिल्ला अस्पतालमा पीडितहरु आन्दोलित, नुरूलहोदा र गुप्तालाई जिप्रकामा बुझाईयो


परासी । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा फेरि एक नवजात शिशुको मृत्यु भएको छ । गर्भवती महिलाको शल्यक्रियाको क्रममा शिशुको मृत्यु भएको छ, भने आमाको अवस्था गम्भीर रहेको छ । जिल्ला अस्पताल पृथ्वी चन्द्रमा यस्ता किसिमको घटना दोहोरिएको छ ।
रामग्राम – २ की गर्भवती महिलाको शल्यक्रियाका क्रममा बच्चाको मृत्यु भएको हो । पीडित महिलाका आफन्त दुधई हरिजनले गर्भवती महिलाको असोजमा चेकजाँचका क्रममा डाक्टरले शुल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसपछि शल्यक्रिया गरिएको थियो । तर शल्यक्रियाका क्रममा महिलाको पेट भित्रको अर्कै नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बोलाएर रिफर गरेका थिए । त्यसपछि अस्पतालमा विवादसमेत भएको थियो । तरपछि अस्पताल र पीडित महिलाका आफन्तबीच उपचार खर्च दिने सहमति भएको थियो । अहिले महिलाको अवस्था दिन प्रतिदिन गम्भीर हुँदै गएको छ ।
पीडित परिवारले सहमति अनुसार उपचार खर्च मागेपनि नदिएपछि फेरि आफन्तले अस्पतालमा विरोध प्रदर्शनसमेत गरेका छन् । अस्पतालमा पीडितसहित स्थानीयहरूको विरोध प्रदर्शन गरेपछि प्रहरीले डाक्टरहरूलाई सुरक्षा दिएको छ । प्रहरीले अस्पतालका नेसु डाक्टर नुरूलहोदा र व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्तालाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दा डाक्टरले पीडित परिवारलाई उपचार खर्च दिने सहमति भएको पीडितका परिवार दुधई हरिजनले बताएका छन ।

























