मुख्य समाचार

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाइने

नवलपुर टुडे
२०७९ पुस १ | मध्यान्ह ०४:०९ बजे

काठमाडौँ, पुस १ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको हो ।

जसअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ । ‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर हुनुहुन्छ, उहाँ फर्किएलगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’ स्रोतले भन्यो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ ।

कमेन्टहरु