जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने


जाजरकोट, मंसिर २८ । सोमबार जाजरकोटमा भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने भएको छ । जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो ।
१६ वर्षमुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमुलक तालिम एवं प्राविधिक शिक्षाको लागि माइती नेपाल सहयोग गर्न सहमत भएको प्रदेशसभा सदस्य शाहले बताए । आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा उनले माइती नेपालप्रति आभार व्यक्त गरेका छन् ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको पठनपाठनको जिम्मा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन् । अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ ।
स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराई बाँकी बालबालिका र पीडित परिवारलाई सहयोग गर्ने शाहको भनाइ छ । सोमबार जाजरकोटको छेडागाड नगरपालिका-४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीनजनाको मृत्यु भएको थियो ।























