थारू र मुस्लिमलाई मधेसीमा राख्ने मधेसी आयोगको सिफारिस फिर्ता

नवलपुर टुडे


काठमाडौ । मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी कोटामा राख्न गरेको सिफारिस फिर्ता लिएको छ । मधेसी आयोगको सिफारिस संविधानविपरीत रहेको भन्दै थारू र मुस्लिम आयोगले लिखित रूपमै विरोध जनाएपछि सिफारिस निर्णय फिर्ता लिएको हो ।
आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सरकारलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाउँदै थारू र मुस्लिमलाई पनि मधेसीमा सूचीकृत गर्न भनेको थियो । मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले थारू र मुस्लिम समुदायले तत्कालका लागि मधेसी र आदिवासी जनजाति क्लस्टरबाट आरक्षण सुविधा लिइरहेकाले सहजताका लागि सिफारिस गरिए पनि विरोध भएपछि फिर्ता लिइएको बताए ।
‘हामीले सिफारिस गरे पनि सरकारले कुनै निर्णय गरेको थिएन । थारू र मुस्लिम आयोगसँगै संघसंस्थाले आपत्ति जनाएपछि हामीले आफ्नो सिफारिस कार्यान्वयन नगर्न निर्णय गरेर सरकारलाई पठाएका छौँ,’ उनले भने ।
निर्वाचन आयोग ऐनअन्तर्गत रहेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ ले समानुपातिकतर्फ दलहरूले उम्मेदवार मनोनयन गरेर बन्दसूची निर्वाचन आयोगमा पेस गर्दा थारूलाई ६.६ र मुस्लिमलाई ४.४ प्रतिशत आरक्षणको व्यवस्था गरिसकेकामा मधेसी आयोगले क्षेत्राधिकार मिचेर अन्तरिम संविधान, २०६४ को व्यवस्था नै कार्यान्वयनका लागि सिफारिस गरेको थियो ।
नेपालमा अन्तरिम संविधान, २०६४ मा आरक्षणको व्यवस्था गर्दा तत्कालीन अवस्थामा थारू र मुस्लिमलाई पनि मधेसीमा राखेर २२ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । लोकसेवामार्फत हुने पदपूर्तिमा हाल पनि सोही व्यवस्था कार्यान्वयनमा छ । तर, निर्वाचनको समानुपातिकतर्फ मधेसीको आरक्षण २२ प्रतिशतबाट घटाएर १५.३ प्रतिशत कायम गर्दै थारू र मुस्लिमलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकामा मधेसी आयोगको सिफारिसप्रति थारू र मुस्लिम आयोगले आपत्ति जनाएका थिए । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले निर्वाचन ऐन, छात्रवृत्ति सुविधासँगै प्रदेश निजामती ऐनमा थारूका लागि छुट्टै कोटाको व्यवस्था रहेकामा मधेसी आयोगले गलत निर्णय गरेको र फिर्ता लिनु स्वागतयोग्य रहेको बताए ।
‘मधेसी आयोगले थरुहट आन्दोलनको पहिचान मेटाउने गरी थारूलाई मधेसीमा राख्न सिफारिस गरेको थियो । थारूले आफू मधेसी भनेर कहिल्यै स्वीकार गरेको छैन,’ चौधरीले भने, ‘गलत निर्णय गर्नुभएको थियो, ढिलो भए पनि फिर्ता लिनुभएछ ।’

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















