मुख्य समाचार

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडाेरको बाग्लुङ–हर्मिचौर खण्ड कालोपत्रे सुरु

नवलपुर टुडे
२०७९ मंसिर २७ | मध्यान्ह ०७:०८ बजे

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ।

बाग्लुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रे गर्न लागिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले जनाएको छ।

बाग्लुङ नगरपालिका– १ मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलदेखि हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नति तथा कालोपत्रेको काम अघि बढाइएको हो।

मालढुंगा–बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का–कृष्ण बिएन जेभीले काम सुरु गरेकोे आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए । मालढुंगाबाट सडक फराकिलो बनाउने र संरचना निर्माण गर्ने काम सुरु भएको हो । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको छ। दुई वर्षमा मालढुंगा–बलेवा खण्ड कालोपत्रे भइसक्ने पौडेलले बताए। बलेवा विमानस्थलदेखि हर्मिचौरसम्मको सडक खण्ड कालोपत्रेका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ।

तीन अर्ब ३० करोड रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्रे हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बाग्लुङका विभिन्न स्थानबाट बुटवल, बाग्लुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ। करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीधाम, पाल्पा भैरवस्थान, बाग्लुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन्।

करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। नेपालको दक्षिणी सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ।

करिडोर नेपालको आर्थिक–सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ। करिडोर कुल चार सय ३५ किलोमिटर लम्बाइको रहेको छ। धार्मिक पर्यटनका निम्ती महत्वपूर्ण मार्गको रूपमा रहेको करिडोरले त्रिदेशीय सम्बन्धलाई थप मजबुत पार्ने अपेक्षा गरिएको छ। 

कमेन्टहरु