मुख्य समाचार

मङ्सिर २७ भित्र मेलम्चीको पानी काठमाडौँमा आउँछ : मन्त्री चौधरी

नवलपुर टुडे
२०७९ मंसिर १४ | मध्यान्ह ०३:०८ बजे

सिन्धुपाल्चाेक, मंसिर १४ । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताएका हुन् ।

गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताए । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताए । उनले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा खुसी पनि व्यक्त गरे ।

निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् मङ्सिर २७ गतेभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि पनि काम सुरु भइरहेको पनि बताए ।

अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर रु ३४ अर्ब खर्च गरेको सरकारले अब करिब रु ३१ करोड खर्च गर्ने हो भने बाह्रैमहिना पानी लैजान सकिने सचिव गेलालकाे भनाइ छ ।

कमेन्टहरु