मुख्य समाचार

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय

नवलपुर टुडे
२०७९ मंसिर १४ | मध्यान्ह ०१:०८ बजे

काठमाडौं, मंसिर १४ । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुने तरखरमा छ छ ।

मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ । मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम नागरिकमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो छ । निर्वाचन परिणामलाई हेर्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागतरूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निस्क्रिय भइसकेको बताए ।

राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निस्क्रिय भइसकेको जानकारी दिए ।

उनले यदी सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकको नयाँ प्रक्रिया सुरु हुने बताए । 

कमेन्टहरु