काठमाडौंका खोलाकिनार अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी

नवलपुर टुडे
२०७९ मंसिर १४ | बिहान ०९:०८ बजे

काठमाडौं, मंसिर १४ । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला लगायतका जग्गा अतिक्रमण गरी बनाइएका अनाधिकृत संरचनाहरु ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आग्रह गरेको हो ।
उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
यदि सूचनाको अवज्ञा गरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।























