प्रदर्शनमा उत्रिए सुकुम्बासी, स्थाई विकल्पबिना नहट्ने अठोट

नवलपुर टुडे
२०७९ मंसिर १३ | मध्यान्ह ०१:०८ बजे

काठमाडौँ, मंसिर १३ । स्थाई विकल्पबिना आफूहरुलाई जबर्जस्ती हटाउन खोजिएको भन्दै काठमाडौको थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाहरुले मंगलबार खबरदारी र्याली निकालेका छन् ।
बिना विकल्प उठिबास आफूहरलाई मान्य नहुने भन्दै संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाली महिला एकीकृत समाजले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहितका नारा बोकेर काठमाडौं महानगर र मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले बालेन शाह राजीनामा दे, उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।
थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा १ सय ३६ छाप्रा रहेका छन् । सोमबार नदी किनारको बस्ती हटाउन गएको काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोलीमाथि स्थानीयहरु जाइलागेका थिए ।























