भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन ३५ दिने सूचना जारी


चितवन, मंसिर १३ । भरतपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रका अवैध संरचनाहरु हटाउने निर्णय गरेको छ । आज (मंगलबार) ३५ दिने सूचना जारी गर्दै अवैध संरचना हटाउन जानकारी गराएको हो । यदि सो समयावधि भित्रमा अवैध संरचना नहटाईए महानगर आफैले हटाउने जनाएको छ ।
महानगरले सार्वजनिक जग्गामा स्वीकृत नलिई निर्माण भएका भवन, टहरा र संरचनाहरु, सडक क्षेत्राधिकार मिचेर बनाईएका टहरा, कम्पाउण्डवाल एवं अन्य सरंचरनाहरु, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचनाहरु, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरि ढलाई गरि बनाईएका स्थाीय र्याम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरि अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्टहरु हटाउने सूचनामा उल्लेख गरेको छ ।
सूचनालाई अवज्ञा गरिएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम महानगर आफैले हटाउने र संरचना हटाउँदा लागेको खर्च सम्बन्धिन व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ ।
























