कैलालीस्थित टीकापुर घटनामा मृत्यु भएका बालकको नागरिक उन्मुक्तिले सालिक बनाउने


धनगढी । कैलालीस्थित टीकापुर घटनामा मृत्यु भएका २ वर्षीय बालक टेकबहादुर साउदको सालिक निर्माण गरिने भएको छ।
उनको २०७२ भदौं ७ गतेको घटनामा मृत्यु भएको थियो । ती बालकको टीकापुर नगरपालिका–१ स्थित टेकबहादुर साउद स्मृति पार्कमा सालिक निर्माण गरिने प्रतिनिधिसभा सदस्य रन्जिता श्रेष्ठले बताइन्। उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत हुन्।
भर्खरै सम्पन्न निर्वाचनमा उनी क्षेत्र १ बाट संघीय सांसदमा निर्वाचित भएकी छन् । निर्वाचित भए लगत्तै बालकका अभिभावकलाई भेटेर उनले सालिक बनाइने बताइन्। २०७२ मा जारी भएको संविधानमा आफ्ना अधिकारको माग गर्दै भइरहेको आन्दोलन हिंसात्मक बन्दा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो।
घटनाको आरोपमा अहिले रेशम चौधरी कारागारमा छन्। उनकै योजनामा स्थापना भएको नागरिक उन्मुक्ति अहिले कैलालीमा १ नम्बर पार्टी बनेको छ।























