नेवानिको दिल्ली–भैरहवा उडान अनिश्चित

नवलपुर टुडे


भैरहवा । नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा गर्न लागेको अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको छ । निगमले १२ मंसिरदेखि सातामा चार दिन काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो ।
तर, नेपाल र भारतका उड्डयन क्षेत्रका नियामक निकायले निगमलाई अझै उडान अनुमति दिएका छैनन् । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नागरिक उड्डयन महानिर्देशनालय (भारत)सँग उडान रुटको प्रस्ताव पेस गरेको थियो । ‘दुवै देशका नियामक निकायबाट अझै कुनै जवाफ आएको छैन,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘नियमनकारी निकायबाटै उडान अनुमति नपाएपछि भैरहवा उडान तत्काललाई अनिश्चित बनेको छ ।’
उडान अनुमति नपाएपछि निगमले दिल्ली–भैरहवा–काठमाडौं रुटको टिकट काटेको छैन । अब नियामकबाट अनुमति पाइहाले पनि १२ गते भैरहवामा उडान गर्न कठिन हुने भएकाले उडान नै अनिश्चित भएको उनको भनाइ छ । नयाँ विमानस्थल भएकाले भैरहवाबाट उडान गर्न दुवै देशका नियमनकारी निकायको अनुमति चाहिन्छ । सुरुमा नेपालको निकायले अनुमति दिएपछि बल्ल भारतीय पक्षले अनुमति दिने गर्छ ।
तर, क्यानले नै दिल्ली–भैरहवा–काठमाडौं रुटको उडान अनुमति दिन आनाकानी गरिरहेको छ । क्यानले जिबिआइएबाट यात्रुलाई दिल्ली जान पनि पाउने गरी उडानतालिका बनाउन अनुरोध गरेको छ । काठमाडौंबाट दिल्ली जाने र दिल्लीबाट भैरहवा भएर काठमाडौं फर्किने गरी रुट तय गरेको हुनाले अनुमति नदिएको क्यानको जिकिर छ ।
क्यानले दिल्ली–भैरहवा–दिल्ली वा भैरहवा–दिल्ली–भैरहवा उडान हुने गरी रुट बनाउन अनुरोध गरेको हो । दिल्लीबाट भैरहवा फर्किने मात्र होइन, भैरहवाबाट दिल्ली जाने यात्रुहरू पनि उडान गर्न पाउनुपर्ने क्यानको भनाइ छ । क्यानले भैरहवामा दुईतर्फी उडान गर्ने गरी तालिका बनाउन अनुरोध गरेको निगमकी प्रवक्ता खड्काले बताइन् । उनले भनिन्, ‘सायद अब नयाँ तरिकाले वर्कआउट हुन्छ होला ।’
निगमले सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौं उडान गर्ने तयारी थालेको थियो । तत्कालका लागि राउन्ड ट्रिप गरे तापनि भोलिका दिनमा भैरहवा–दिल्ली–भैरहवा दुईतर्फी उडान गर्ने योजना निगमले बनाएको प्रवक्ता खड्काले बताइन् ।
यसअघि नै काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट अनिवार्य उडान गर्न क्यानले निर्देशन दिइसकेको छ । क्यानले विन्टर सेड्युल बनाउँदा भैरहवाबाट उडान राख्न निर्देशन दिएको थियो । तर, हिमालय र नेवानिले भैरहवा उडान गर्न नमानेपछि क्यानले अन्तर्राष्ट्रिय उडान नै कटौती गरिदिएको थियो । निगमको भारततर्फ चारवटासहित सातामा १४ उडान कटौती भएको प्रवक्ता खड्काको भनाइ छ ।
हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान सुरु गरिसकेको छ । ‘क्यानले न निगमको दिल्ली–भैरहवा–काठमाडौं उडानको प्रस्ताव स्वीकृत गरेको छ, न कटौती गरिएका उडानहरू खुला गरिदिएको छ,’ निगम स्रोतले भन्यो, ‘काठमाडौं–दिल्ली उडान कटौती हुँदा निगमको सातामा नौ करोडभन्दा बढी आम्दानी गुमिरहेको छ ।’

झापाको मेचीनगर चिया बगानबाट ५५७ किलो गाँजा बरामद

चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

सरकारको निर्णयविरुद्ध आईजीपी कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा के छ ?

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न
अरुपनि पढ्नुहोस
सबै
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
















