मुख्य समाचार

सुरक्षा प्रमुखहरू भन्छन्– फुलप्रुफ सुरक्षा छ, ढुक्कले मतदान गर्नुहोला

नवलपुर टुडे
२०७९ मंसिर ४ | बिहान ०९:०८ बजे

काठमाडौ । प्रतिनिधिसभा र प्रदेश सभाको लागि आज बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदानको लागि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा प्रमुखहरुले जनाएका छन् । 

सुरक्षा प्रमुखहरूले फुलप्रुफ सुरक्षाकाे ब्यवस्था गरिएकाले ढुक्कले मतदान गर्न आह्वान गरेका छन् ।निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिएका छन् । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी खटिएका छन् भने बाहिरी घेरामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइएको छ । 

धीरजप्रताप सिंह, महानिरीक्षक, नेपाल प्रहरी

photo 2022 11 20 09 31 07

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न विशेष सुरक्षा योजनाअनुसार उच्च मनोबलका साथ सुरक्षाकर्मी देशैभरि परिचालित छन् । प्रहरीको उच्च व्यावसायिकताका कारण फुलप्रुफ सुरक्षाको वातावरण बनेको छ । निर्वाचन बिथोल्न छिटफुट केही हिंसाका घटना भए पनि त्यसमा संलग्नलाई हामीले कानुनी दायरामा ल्याइसकेका छौँ ।

आफ्नो, मतदानस्थलका कर्मचारीको तथा मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न भए कसैको आदेशविना नै गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएका छौँ । सबै सुरक्षा निकायबीचको समन्वयले निर्वाचन सुरक्षा चुस्त बनेको छ । बढीमा ३० मिनेटभित्र थप सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा योजना बनेको छ । त्यसकारण ढुक्क भएर आफ्नो मताअिधकार सदुपयोग गर्न नेपाल प्रहरीको अनुरोध छ । 

राजु अर्याल, महानिरीक्षक, सशस्त्र प्रहरी    

photo 2022 11 20 09 31 08

आन्तरिक र बाह्य दुवै सुरक्षा चुनौती आकलन गरेर निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिएको छ । चार सुरक्षा निकायबीच उच्चस्तरको समन्वय भएको छ, जुन फिल्डमा पनि देखिएको छ । समन्वय राम्रो हुँदा सुरक्षा अवस्था बलियो भएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षालाई पनि विशेष केन्द्रमा राखेको छ ।

यसपटक सीमामा हाम्रो टोलीको ग्याप हुने स्थानमा भारतको एसएसबीसँग समन्वय गरी त्यहाँ आवतजावत रोक्न भनेका छौँ । संवेदनशील ठाउँहरूमा पहिलाको अनुभवका आधारमा थप सुरक्षाकर्मी परिचालन भएको छ ।

घरदेखि मतदानस्थलसम्म पुग्नदेखि मतगणनासम्मको सुरक्षामा सुरक्षाकर्मीहरू एकीकृत रूपमा खटिएर शान्तिपूर्वक चुनाव गराउने वातावरण बनेको छ । त्यसकारण निर्धक्क भएर उत्साहका साथ मतदान गर्ने वातावरण बनेको छ ।

कमेन्टहरु