विभिन्न अनलाइन मिडियामा आएका भ्रामक समाचारप्रति कांग्रेस–माओवादीको ध्यानाकर्षण


काठमाडौं, मंसिर ३ । विभिन्न अनलाइन मिडियाको दुरुपयोग गरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच फाटो ल्याउने दुराशयले सामाजिक संजालमा प्रकाशित भ्रामक समाचारहरूप्रति कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) को ध्यानाकर्षण भएको जनाएको छ ।
दुबै पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालका प्रतिष्ठित अनलाइन मिडियामा प्रेषित भ्रामक सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् ।
‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् । सोही विषयमा संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवहरूले खण्डन गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’
दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको दुई पार्टीले ठहर गरेको छ । यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।
























