मुख्य समाचार

वीरगञ्जबाट १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ

नवलपुर टुडे
२०७९ मंसिर २ | मध्यान्ह ०१:०८ बजे

वीरगञ्ज, मंसिर २ । वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका – १८ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेका छन् ।

बिहीबार राति कलैयाबाट वीरगञ्ज आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारलाई वीरगञ्ज बसपार्क इलाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरिएको थियो ।

उनीहरुको साथबाट १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्कली मतपत्र र रकम लिएर हिडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्टहरु