पाल्पामा आजदेखि मदिरा बिक्रीवितरणमा रोक


पाल्पा, कात्तिक २९ । पाल्पामा आजदेखि मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै आजदेखि निर्वाचनको मतगणना सम्पन्न नहुँदासम्म मदिराजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको हो । निर्देशनको अवज्ञा गरी कुनै पनि प्रकारको मदिरा बिक्री, ओसारपसार र सेवन गर्नेलाई कानुनबमोजिमको कडा कारबाही हुने चेतावनी दिइएको छ ।
प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु मंसिर १ गते देखि ५ गतेसम्म स्थगित गर्ने जनाएको छ । कर्मचारीहरु पनि मतदानस्थलमा खटिएकाले शान्ति सुरक्षा, मुद्दा, ठाडो उजुरी र अत्यावश्यकबाहेकका सेवा स्थगित हुने र ६ गते देखि सबै सेवाहरु पुन : सुचारु हुने पन्तले बताए ।
























