मुख्य समाचार

मोरङको हार्डवेयर पसलमा आगलागी : दुई जना घाइते, झण्डै ४ करोडको क्षति,

नवलपुर टुडे
२०७९ कार्तिक २५ | बिहान ०९:०७ बजे
फाइल तस्बिर

मोरङ, कात्तिक २५ । मोरङको बेलबारी नगरपालिका–१ ढुकुरे चोकमा रहेको हार्डवेयर पसलमा शुक्रबार बिहान आगलागी हुँदा दुई जना घाइते भएका छन् । डबलबहादुर खाण ठकुरीको ३ तले घरमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयरमा बिहान १:४५ बजेतिर अचानक आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट डबलबहादुरका ३० वर्षीय छोरा भूषण ठकुरी र २८ वर्षीय बुहारी नमिता ठकुरी घाइते भएका छन् । शरीरका विभिन्न भाग जलेर घाइते भएका उनीहरुको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार आगलागीबाट ४ करोड बराबरको क्षति भएको छ । आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका सामान जलेर नष्ट भएको छ ।

प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान ३:२५ बजेतिर आगो नियन्त्रणमा लिइएको बताइएको छ । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु