मुख्य समाचार

सरकारले भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत सामग्री पठाइयो

नवलपुर टुडे
२०७९ कार्तिक २३ | मध्यान्ह ०४:०७ बजे

काठमाडौं, कात्तिक २३ । भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको जानकारी दिएका छन् ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु भई ६.६ म्याग्निच्युडको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका – ३ मा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । भूकम्पबाट १० वटा घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परेर मृत्यु भएका परिवारलाई र घर भत्केकाहरूलाई राहत दिने सरकारको तयारी छ । भूकम्पमा परेर गम्भीर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले बिहानै निर्देशन दिएका थिए ।

साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले पनि उद्धार र राहतमा जुट्न आग्रह गरेका थिए ।
हेर्नुहोस विज्ञप्ति

photo 2022 11 09 16 40 25

कमेन्टहरु