मुख्य समाचार

नवलपुरमा मंगलबारदेखि मदिरा बिक्री गर्न प्रतिबन्ध

नवलपुर टुडे
२०७९ कार्तिक २३ | मध्यान्ह १२:०७ बजे

बुटवल, कार्तिक २२ । आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो”, प्रजिअ सुमन घिमिरेले भन्नुभयो, “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।”

निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । रासस

photo 2022 11 09 12 25 37

कमेन्टहरु