सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास


सुर्खेत, कात्तिक २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सुर्खेतमा जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।
चुनावी सम्बोधनपछि नेपाली काँग्रेसका उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्’ एक प्रहरी अधिकारीले भने ‘उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’
मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ति प्रहरी अधिकारीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले जाेगाएको हाे । घटनामा संलग्न युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















