मुख्य समाचार

रूपन्देहीको देवदहमा एक दम्पती मृत फेला

नवलपुर टुडे
२०७९ कार्तिक २१ | बिहान ११:०७ बजे

बुटवल, कात्तिक २१ । रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका – ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ । हेमकलाको शव भुईंमा तन्नाले बेरिएको अवस्थामा रहेको र बालेन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीको भनाई छ ।

घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिन अघि मात्रै घर फर्किएका थिए । आइतबार साँझसम्म पारिवारिक कलह, झै-झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन् ।

उनीहरुका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्यालबाट हेर्दा आमा भुईंमा पल्टिएको र बुवा झुण्डिएको अवस्थामा देखेपछि छिमेकीलाई खबर गरेका थिए ।

कमेन्टहरु