मुख्य समाचार

सुर्खेतमा लागुऔषधको मुद्दामा चलखेल : इन्स्पेक्टरलाई कारबाही, एसपीलाई उन्मुक्ति 

नवलपुर टुडे
२०७९ कार्तिक २० | बिहान ०९:०७ बजे

बुटवल, कार्तिक २० । लागुऔषधको मुद्दाको अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरीका इन्स्पेक्टर कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर लालबहादुर सुनारमाथि कारबाही भएको हो । ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिई मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि उनी कारबाहीमा परेका हुन् ।

प्रहरीकै कमजोरीले लागुऔषध मुद्दामा अभियुक्तहरू धरौटीमा छुटेका थिए । छानबिनका क्रममा प्रहरीले अनुसन्धानका आधारभूत सिद्धान्तसमेत पालना गरेका थिएनन् । बरामदी रोहबरमा कम्तीमा एकजना जनप्रतिनिधि वा सरकारी कर्मचारीलाई राख्नुपर्नेमा उनले कसैलाई राखेका थिएनन् । साथै, बरामदी कपडाकोसमेत सनाखत गराएका थिएनन् । अभियुक्तलाई फाइदा हुने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको खुलेको छ । सोही आधारमा अभियुक्तलाई अदालतले छाडेको थियो ।

अभियुक्तबाटै लागुऔषध बरामद भएको प्रस्ट प्रमाण नै नराखी मुद्दा दायर गरिएको थियो, जसकारण अदालतले धरौटीमा छाडेको थियो । अनुसन्धानमा लापरबाही गरेकाले इन्स्पेक्टर सुनुवारलाई नसिहत दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । 

सो घटनामा सुर्खेतका एसपी पदबहादुर विष्टमाथि भने, कारबाही भएन । स्रोतका अनुसार यो घटनामा एसपी विष्टको पनि शंकास्पद भूमिका देखिएको थियो । एसपी र इन्स्पेक्टरकै मिलेमतोमा अभियुक्तलाई जोगाउन खोजेको सूचना प्रहरी प्रधान कार्यालयले पाएको थियो, तर एसपीमाथि विस्तृत छानबिन नै नगरिएको स्रोत बताउँछ । 

कमेन्टहरु