भैरहवा विमानस्थलबाट कुवेत एयरले नियमित उडान गर्ने, विज एयरको उडान योजना स्थगित


काठमाडौँ । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।
गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो ।
उक्त कम्पनीले चार्टर उडान सुरु गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार उक्त कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट यो कम्पनीले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ ।
उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको भए पनि उडान तालिका प्रस्ताव आउन बाँकी रहेको बताइएको छ । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ । रासस























