माओवादी केन्द्रका सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश


रुपन्देही, कात्तिक ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन् ।
उनीहरू २०५७ मा द्वन्द्व कालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए । पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए । उनीहरूलाई पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरू एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए । कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले देशको समृद्धि र विकासका लागि एमालेलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।
उनले केही स्वार्थी समूहहरूले एमाले विरोधी अभियान चलाएपनि नागरिकले देशको पक्षमा, समृद्धिको पक्षमा कसले काम गरेको छ भन्ने विषय बुझिसकेको बताए । विभिन्न कारणले एमालेको नेतृत्व बाहिर रहेकाहरूलाई सबै मिलेर गोलबन्द गराउने विषयमा सबै जुट्नुपर्ने समय आएको नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेताहरूले एमाले रोजेका कारण सबैलाई उत्साह थपिएको बताए ।






















