मुख्य समाचार

पोखरामा प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु, देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

नवलपुर टुडे
२०७९ अशोज ३० | मध्यान्ह ०४:०६ बजे

पोखरा, असोज ३० । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ सहभागी एक खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ । प्याराग्लाइडिङ गर्दागर्दै करिब १०० मिटरमाथिबाट खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । सो दुर्घटनापश्चात् सरकारले देशैभर अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडान बन्द गराइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । अब प्याराग्लाइडिङ उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने जनाएको छ ।

कमेन्टहरु