सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक


काठमाडौ । किष्ट अस्पतालले १८ दिनदेखि उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको बताएको छ।
जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए । उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गरिएको थियो। उनको रगत परीक्षण गर्दा डेंगी संक्रमण देखिएको, छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ।
‘उहाँलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्ज नगरेको र आजदेखि Albumin replacement गर्नका लागि उहाँलाई औषधि चलाइएको छ’, अस्पतालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै छातीमा निमोनियाको संक्रमण र पिसाबमा इन्फेक्सन भएकाले एन्टिबायोटिक्स दिइरहेको अस्पतालले जनाएको छ। ‘समग्रमा डा. जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको छ’, अस्पतालले भनेको छ।























