सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

नवलपुर टुडे
२०७९ अशोज २४ | बिहान ११:०६ बजे

काठमाडौं, असोज २४ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले २० गतेबाट लागु हुने गरि ७ दिनका लागि म्याद थप गरेको हो ।
लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनी विदेशमा रहेका बेला भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।
जाहेरी पश्चात् उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर कतारको दोहाबाट बिहीबार बिहान नेपाल फर्किएका थिए । फर्किएलगत्तै उनलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।























