मुख्य समाचार

पुरातात्विक नक्सा बनाएर बुद्धस्थलहरुको खोजी गरौं : सिद्धिचरण भट्टराई

नवलपुर टुडे
२०७९ अशोज ११ | मध्यान्ह ०३:०६ बजे

 

रामग्राम स्तुपमा काम गर्ने बातावरण मिलाईदिन नगरप्रमुख यादवको अनुरोध

परासी, असोज १० । बुद्धस्थलहरुको वारेमा आ–आफ्नो क्षेत्र महत्वपूर्ण रहेको भन्दै राजनितिक नक्साका आधारमा नेताहरुले दावी विरोध गर्नु भन्दा पुरातात्विक नक्सा बनाएर बुद्धस्थलहरुको खोजी गर्न लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आग्रह गर्नु भएको छ ।

नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा गाउँले दर्पण मिडिया प्रालीले आयोजना गरेको नवलपरासी जिल्लाका बुद्धस्थल र सरोकारवालाहरुको भुमिका विषयक गोष्ठीमा बोल्दै भट्टराईले उक्त कुरा बताउनु भएको हो ।

उहाँले लुम्बिनी बिकास कोषले नवलपरासी जिल्लामा रहेको रामग्राम स्तुप र पंडितपुरमा आउने पर्यटकहरुको अहिलेसम्म कुनै रेकर्ड नभएकाले दशैंपछि तत्काल रामग्राम नगरपालिकासंग सहकार्य गरी लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय स्थापना गर्ने, स्तुप वरिपरी अहिले भएको जति क्षेत्रमा वाल लगाउने र खानेपानीको ब्यवस्था गर्ने तथा पर्यटक बस्न मिल्ने गरी सामान्य ट्रस्ट निमार्ण गर्ने योजनाका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नवलपरासी जिल्लाका थुप्रै बुद्धस्थलहरु प्रमाणित नभएपनि ऐतिहासिक रहेको बताउनु भएको थियो । उहाँले नवलपरासी जिल्लाको सिंगो गहनाका रुपमा रहेको रामग्राम स्तुप र पंडितपुरको विकासका लागि रामग्राम नगरपालिकाले लुम्बिनी विकास कोषवाट अलग भएर छुट्टै रामग्राम विकास कोषमार्फत अघि बढ्ने तयारी गरेकाले लुम्बिनी विकास कोषले त्यस किसिमको वातावरण सृजना गर्न अनुरोध गर्नु भएको थियो ।

लुम्बिनी विकास कोष र पुरातत्वविभागको अनुमतिविना रामग्राम स्तुपमा आफुहरुले कुनै पनि काम गर्न नपाएको हुनाले आफुहरुलाई काम गर्ने वातावरण सृजना गरी दिन कोषसमक्ष आग्रह गर्नु भएको थियो । नगरपालिकाले एडिबिसंग सहकार्य गरेर काम गर्न चाहेर पनि गर्न नपाएको बताउदै अहिले ६२ करोडको लागतमा रामग्रामदेखि पंडितपुरसम्मको सडक निमार्ण गर्ने तयारी गरिएको जानकारी गराउनु भएको थियो ।

रामग्रामदेखि लुम्बिनीसम्म बस संचालनका लागि बजेटसमेत विनियोजन गरिएकाले लुम्बिनी बिकास कोषले पनि त्यसमा सहकार्य गरेर साँझ बिहान बस चलाउने बातावरण मिलाउन आग्रह गर्नु भएको थियो । नेपाल भनेको लुम्बिनी र सगरमाथाको देश मात्र होइन, यो त बुद्धको अस्टधातु रहेको रामग्राम स्तुप भएको देशपनि हो भनेर विश्वसामु चिनाउने गरी काम गर्न आफुहरु आतुर रहेको बताउनु भएको थियो ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको अध्यक्षता, गाउँले दर्पण मिडिया प्रालीका कार्यकारी निर्देशक कृष्ण ढकालको संचालन र रामग्राम नगरपालिकाका नगर उप–प्रमुख सम्झना चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको उक्त गोष्ठीमा पुरातत्वविद्ध बसन्त विडारीले नवलपरासी जिल्लाका बुद्धस्थलहरुका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

पुरातत्वविद्ध बसन्त विडारीले प्रस्तुत् गर्नु भएको कार्यपत्रमा रामग्राम स्तुप, पंडितपुर र कन्यामाईको उत्खन्नका दृश्यदेखि आफुले उत्खन्न गर्दा भोगेका अनुभव र बुद्धसंग सम्वन्धित प्राचिन वस्तुहरु एवं त्यसको महत्वका वारेमा स–प्रमाण भेटिएका बिषयवस्तुहरु प्रस्तुत् गर्नु भएको थियो ।

अर्का लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी विकास कोषले अहिलेसम्म नवलपरासी जिल्लामा गरेका काम र आगामी योजनाका वारेमा जानकारी गराउनु भएको थियो । उहांँले विषेश गरी रामग्राम स्तुपको गुरु योजना प्रस्तुत गर्दै त्यसको स्विकृतिका लागि नेपाल सरकारसंँग पेश भएको र गुरु योजना स्विकृत नभएकै कारण रामग्राम स्तुपमा कुनै विकास निमार्णका कार्य गर्न नपाईएको जानकारी गराउनु भएको थियो ।

नवलपरासी जिल्लाका पालिका प्रमुख, उप–प्रमुख तथा प्रशासकिय प्रमुखहरु, निवर्तमान पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सामाजिक संघसंस्था एवं कार्यालयका प्रमुखहरु र पत्रकारहरुको सहभागिता रहेको गोष्ठीमा बोल्ने बक्ताहरुले नवलपरासी जिल्लाका बुद्धस्थलहरुका वारेमा लुम्बिनी विकास कोषले खासै चाँसो नदिएको गुनासो गरेका थिए । उनीहरुले लुम्बिनी विकास कोषलाई लुम्बिनी भन्दा वाहिर निस्केर अन्य स्थानका बुद्धस्थलको पनि संरक्षण र विकास गर्न आग्रहसमेत गरेका थिए ।

कमेन्टहरु