मुख्य समाचार

बृहत् नागरिक आन्दोलनले माग्यो राष्ट्रपतिको राजीनामा

नवलपुर टुडे
२०७९ अशोज ६ | बिहान ०७:०६ बजे

काठमाडौ । बृहत् नागरिक आन्दोलनले संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएको छ। संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै बृहत नागरिक आन्दोलनले व्यवस्था थप जोखिमपूर्ण बन्न नदिन र संविधानको सर्वोच्चता कायम राख्न भण्डारीले राजीनामा दिनुपर्ने भनेको हो।

उनको यो असंवैधानिक कदम महाअभियोग लगाउनसमेत पर्याप्त भएको बृहत नागरिक आन्दोलनले जनाएको छ।
संसदले दुईपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणित गर्नुपर्नेमा त्यसलाई संवैधानिक प्रावधानविपरीत अस्वीकार गरेकी छन्।

‘संविधान उल्लंघन गर्दै बलमिच्याइँ गर्न खोज्ने राष्ट्रप्रमुखले पदको गरिमा मात्र कायम राख्न नसकेको होइन, लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न गरेको छ,’ बृहत नागरिक आन्दोलनद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राजाको सिको गर्न कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संवैधानिक संस्कार बलियो बनाउने, संविधान रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको हो। संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन। कुत्सित उद्देश्यसहित बारबार संविधान एवं लोकतान्त्रिक व्यवस्थाको मूल्य–मान्यता धूलिसात बनाउने भण्डारी राष्ट्रप्रमुखजस्तो गरिमायुक्त पदमा बसिराख्नु उक्त पदको ओज घटाउनु हो।’

नागरिकता विधेयकमा भाँजो हालेर राष्ट्रपतिले लामो समयदेखि अनागरिकका रूपमा रहेका लाखौं व्यक्तिलाई नागरिक हुनबाट वञ्चित गरेको विज्ञप्तिमा छ। ‘अनागरिकलाई नागरिक बनाउने उद्देश्यले ल्याइएको विधेयकलाई नेपाल सरकारले अविलम्ब जारी गर्ने संवैधानिक बाटो खोजी गर्नुपर्ने बृहत् नागरिक आन्दोलनको अडान छ,’ विज्ञप्तिमा भनिएको छ।

कमेन्टहरु